Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

Locust Advisory for all the Stakeholders (July 09, 2020)

Published On: 2020-07-09

सलहको सम्भावित प्रकोप र व्यवस्थापनका लागि सुझाव (२०७७/०३/२५)

भारतको राजस्थान लगायतका विभिन्न स्थानमा रहेका सलहका झुण्डका केही अंशहरु अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र विहारमा प्रवेश गरेका थिए । आषाढ ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुनको शुरुआत भैसकेपछि पनि हावाको वहाव दक्षिणबाट उत्तर पूवतर्फ मोडिएकोले भारततर्फका सिमावर्ती जिल्लाहरु  र्सलाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देहीमा आषाढ १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएका केहि सलहहरु र आषाढ १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र आषाढ १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्डको केही अंश रुपन्देही तथा सोही झुण्डको भारतको उत्तराखण्डतर्फ जाने क्रममा कैलाली तथा डडेल्धुराबाट समेत नेपालको भूभागमा प्रवेश गरेको थियो । उक्त सलहको झुण्डहरु छरिएका र कम संख्यामा भएका र मौसम अनुकुल नभएकाले तुलनात्मक कम नोक्सानी गरेको देखिएको छ । हावाको वहावसँगै उक्त झुण्डका अंशहरु तराई र मध्यपहाडका विभिन्न जिल्लाहरु विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ्ग, प्यूठान, रोल्पा, कास्की, कैलाली, डडेल्धुरा लगायतका जिल्लाहरुमा केही हजार देखि केही लाख सम्मको संख्यामा देखापरेको र हाल उक्त झुण्डका सलहहरुको उपस्थिति नरहेको अवस्था छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका अनुसार अफ्रिकाको बिशेष गरी सोमालियामा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु गर्मीयामको बंशवृद्धिका लागि भारत तथा पाकिस्तानतर्फ सर्ने प्रक्षेपण गरिएको छ । भारत पाकिस्तानको सीमाक्षेत्रमा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु भारतका पूर्वी तथा उत्तरी राज्यहरु हुँदै नेपालसम्म आइपुगेकोमा मनसुनको शुरुआत पछि राजस्थानतर्फ फर्किने प्रक्षेपण गरिएको छ । यी झुण्डहरु इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसीइ राजस्थान र उत्तरी गुजरातमा बंशवृद्घि गरेर जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्डहरु तयार हुन सक्ने प्रक्षेपण गरिएको छ । यसमध्ये केही सलहका झुण्डहरु नेपालका समथर भूभाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफ ए ओ को रहेको छ ।

पछिल्लो विवरण अनुसार हाल भारतको जयपुर र आग्राको बिचमा धौषा भन्ने स्थानमा रहेका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफल साइजका रहेका देखिन्छ । यी झुण्डहरु हावाको बहावसँगै उत्तर पूर्वतर्फ गंगानगर, ग्वालीयर हुँदै ३ दिनमा अल्लाहबाद सम्म पुग्ने पूर्वानुमान रहेको छ । यसैगरी राजस्थानको सिकर आसपासका क्षेत्रमा करीब ४०० हेक्टर क्षेत्रफल साइजका ५ वटा झुण्डहरु राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ । अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको छ । पानी परेको बेला तथा रातीमा चलायमान नहुने भएको भएता पनि हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना समेत रहेको छ । यस सम्बन्धमा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानी गर्ने कार्य निरन्तर भइरहेको छ ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै गएकोले राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ । त्यस मध्येका केही झुण्डहरु केहि दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने  सम्भावना रहेकोले बिशेष गरी तराइ तथा भित्रीमधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाइ अनुरोध छ । 

भूमि व्यवस्था¸ कृषि तथा सहकारी मन्त्रालय तथा अन्तरगतका निकायः

  • सीमाक्षेत्रमा कार्यरत सुरक्षा निकायहरुसंग समन्वय गरी सलहका झुण्ड प्रवेश गरेको अवस्थामा तत्काल सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने ।
  • द्रुतकार्य समुह परिचालन गरी सलह व्यवस्थापनका लागि काम गर्ने गराउने ।
  • सलह फोकल विन्दु मार्फत केन्द्र तथा स्थानीय तहमा जानकारी गर्ने गराउने ।
  • कृषि ज्ञान केन्द्रहरुलाई प्राविधिकरुपमा सुसूचित राख्न सहयोग गर्ने
  • कृषि ज्ञान केन्द्रहरु मार्फत प्राविधिक सूचनाहरु दिई कृषकहरुलाई सुसूचित गराउने ।
  • विभिन्न सञ्चार माध्यमद्धारा कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने ।
  • Power Sprayer र विषादी लगायतका वस्तुहरु तयारी अवस्थामा राख्ने ।
  • विषादी छर्ने व्यक्तिहरुलाई PPE को व्यवस्था गर्ने गराउने ।
  • प्रदेशस्तर र जिल्लाहरुमा विपद व्यवस्थापन समितिको वैठक राख्न लगाई दमकल लगायतका सवारी साधनहरु तयारी अवस्थामा राखी जनशक्ति परिचालन गर्न लगाउने ।
  • भारत बाट सम्भावित प्रवेशका विन्दुहरुका बारेमा निरन्तर जानकारी लिने र सचेत गराउने तथा  सलह सूचना केन्द्रमा जानकारी गराउने ।

स्थानीय तहः

  • सलह फोकल विन्दु मार्फत केन्द्र तथा प्रदेश तहमा जानकारी गर्ने गराउने ।
  • स्थानीय तहमा रहेका कृषि शाखाहरु मार्फत कृषकहरुलाई सुसूचित राख्न सहयोग गर्ने
  • Power Sprayer  विषादी लगायतका वस्तुहरु तयारी अवस्थामा राख्ने ।
  • विषादी छर्ने व्यक्तिहरुलाई PPE को व्यवस्था गर्ने गराउने ।
  • विभिन्न सञ्चार माध्यमद्धारा कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने ।
  • सलहको सम्भावित प्रवेशका विन्दुहरु साथै उडानको दिशाका बारेमा निरन्तर जानकारी लिने र सचेत गराउने ।
  • धेरै प्रोटीन युक्त कीरा भएकोले आएका झुण्डहरुलाइ जालोको पासोमा वा पञ्जा लगाइ हातले समेत संकलन गरी जम्मा गरेर पशु आहारा बनाउन सकिन्छ ।
  • यदि आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुडा, बाजागाजा, साइलेन्सर हटाएको मोटरसाइकल, लाउड स्पिकर  तथा धुवाँ लगायतका कुनै पनि माध्यमबाट बस्न बाधा पुर्‍याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
  • नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन लगाउने ।
  • टनेल भित्रको बालीलाइ वरिपरीबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन लगाउने ।
  • धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउन लगाउने ।
  • धानखेतमा पानी जमाउन लगाउने ।
  • विषादीको लगत राख्ने र आवस्यक परेमा खरिद गरी राख्ने र स्थानीय एग्रोभेटहरुलाई सूसूचित र तयारी अवस्थामा राख्ने
  • खेतबारी वा सार्वजिनक स्थान¸ जङ्गलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने सम्पर्क बिषादीको प्रयोग गर्ने । मालाथियन ५०%  इ. सी. ३ मि ली वा ल्याम्डा साइहेलोथ्रीन ५% इ.सी. ०.७ मि.ली वा क्लोरपाइरिफोस २०%  इ. सी. १.८८ मि. ली. वा डेल्टामेथ्रीन २.८%  इ.सी. ०.७५ मि ली प्रति लिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।
  • बिषादी प्रयोग गर्नु पर्दा व्यक्तिगत सुरक्षाका साथै मानवीय तथा पशुपन्छीहरुलाइ सुरक्षित गर्न बिशेष सावधानी अपनाउने ।
  • बिषादी प्रयोग पश्चात संकलन गरिएका सलहहरु सूरक्षित साथ विसर्जन गर्नु पर्दछ, पशुआहाराका लागि प्रयोग गर्नु हुँदैन ।
  • प्रदेश तथा केन्द्रीय निकायहरुमा सलहको उपस्थितिको बारेमा आवस्यक जानकारी गराउने ।

सलह कीराको पहिचान र व्यवस्थापनको सम्बन्धमा कृषक वर्ग तथा सर्वसाधारणमा अनुरोध

१ सलहलाइ कसरी चिन्ने

  • सलह झुण्डमा रहने प्रवृत्तिका फट्यांग्राको एक प्रजाती हो ।
  • सलह  बयस्कको  अवस्थामा  मात्र उड्ने  भएकोले उङ्न नसक्ने बच्चा  (होपर  वा निम्फ)  नेपालमा  आउन  सक्दैन ।
  • सलह आगन्तुक कीरा भएको र नेपालमा बंशवृद्धी गर्ने सम्भावना नभएको। 
  • अपरिपक्व वयस्क गुलाबी रङ्गको र परिपक्व  हुँदै जाँदा गुलाबी-खैरो र परिपक्व भैसकेपछि पँहेलो रङ्गको हुन्छन् । 
  • सलह झण्डै चोर औंला जत्रो साइजको हुन्छ ।
  • सलहको झुण्डहरु दिनको समयमा हावाको वहावसँगै निकै टाढासम्म उड्न सक्दछन्  र कहिलेकाही झुण्डबाट छुट्टिएका सलह  छिटफुट रुपमा  जहाँ कहीं पुग्न सक्दछन् र यस्ता एक्ला सलहले धैरै नोक्सानी गर्दैनन् ।
  • सामान्यतया सूर्यास्त हुँदा सलहले रुख बिरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छन् र बिहान सूर्योदयपछि केही समय घाम तापेपछि नजिकैको वोटबिरुवा खान्छन् र पुनः उडेर अन्यत्र जान सक्दछन् ।
  • पानी परेको वा बादल लागेको अवस्थामा यो कम चलायमान हुन्छ ।

२. सलहले कसरी नोक्सानी गर्छ

  • सलहले बालीनाली, घाँसहरु, झारपात र सबै किसिमका रुख बिरुवाहरुका पात, मुना लगायतका नरम वस्तुहरु खाएर नष्ट गर्छ । एउटा कीराले प्रतिदिन आफ्नो शरीरको तौल बरावर खान सक्छ । यसले प्रत्यक्ष रुपमा मानिस वा पशुन्छीलाइ क्षति गर्दैन ।

३. सलह आउँदै गर्दा के गर्ने

  • सलहको झुण्ड आएको थाहा पाउनासाथ स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने
  • कुनै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचनाहरु स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने ।
  • कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भइ समूदायमा सबैलाइ जानकारी गराउने ।
  • सलहको झुण्ड घरभित्र समेत पसेर दुख दिन सक्ने भएकोले आउने सम्भावना भएमा झ्याल ढोका सावधानिपूर्वक बन्द गर्ने ।

४. सलह आएमा कसरी व्यवस्थापन गर्ने

  • धेरै प्रोटिन युक्त कीरा भएकोले आएका झुण्डहरुलाइ जालोको पासोमा वा पन्जा लगाएर हातले संकलन गरी जम्मा गरेर कुखुरा,  हाँस तथा माछाको आहारा बनाउन सकिन्छ ।
  • यदि आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुडा, बाजागाजा, साइलेन्सर हटाएको मोटरसाइकल, लाउड स्पिकर  तथा धुवाँ लगायतका कुनै पनि माध्यमबाट बस्न बाधा पुर्‍याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
  • नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ ।
  • टनेल भित्रको बालीलाइ वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।
  • धानको व्याडमा जाली वा त्रीपाल आदिले छोपेर जोगाउने र सो स्थानमा सलह आएको समयमा वा छिटो आउन सक्ने सम्भावना भएमा धान रोपाई केही दिन ढिलो गर्ने।
  • खेतबारी वा सार्वजिनक स्थान¸ जङ्गलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने बिषादीको प्रयोग गर्ने । मालाथियन ५०%  इ. सी. ३ मि. ली. वा ल्याम्डा साइहेलोथ्रीन ५%  इ.सी. ०.७ मि.ली. वा क्लोरपाइरिफोस २०%  इ. सी. १.८८ मि ली वा डेल्टामेथ्रीन २.८%  इ. सी. ०.७५ मि.ली. प्रति लिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।
  • बिषादी प्रयोग गर्नु पर्दा व्यक्तिगत सुरक्षाका साथै मानवीय तथा पशुपन्छीहरुलाइ सुरक्षित गर्न बिशेष सावधानी अपनाउने ।
  • बिषादी प्रयोग पश्चात संकलन गरिएका सलहहरु सूरक्षित साथ विसर्जन गर्नु पर्दछ, पशुआहाराका लागि प्रयोग गर्नु हुँदैन ।

सलह कीराको सम्बन्धमा थप जानकारीको लागि सम्पर्कः

  • सम्बन्धित पालिकाहरुका कृषि शाखा
  • कृषि ज्ञान केन्द्रहरु
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका जोन तथा सुपरजोनहरु
  • कृषि अनुसन्धान केन्द्रका नजिकका कार्यालयहरु

सलह सूचना केन्द्रः प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र 

सम्पर्क व्यक्तिः श्री रामकृष्ण सुवेदी¸ बरिष्ठ बाली संरक्षण अधिकृत, फोन नं. ९८५१२३७९४४